Signing Ceremony of China-Nepal Internet Connection

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्ग (Terrestrial Cable Route) बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

signing-ceremony-of-ntc-and-china-telecom

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले २०७३ मार्ग २१ गते हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको छ ।

केही समय अघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक International Connectivity को लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।

अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ ।

उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गर्नुभयो ।

त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।