Farming with Apps Gives you all the Information, KrishiGhar

चितवनको गीतानगरकी किसान सुनिता चापागार्इं एन्ड्रोइड मोबाइलबाट यसअघि फेसबुक धेरै चलाउँथिन् ।

अनि दोस्रोमा भाइबर तथा जिमेलमा उनको हात जान्थ्यो । बेलाबेलामा आफन्तसँग फोनमा कुराकानी मोबाइलबाट हुन्थ्यो । मनोरञ्जन लिन पनि मोबाइल नै । यस्तै प्रयोजनका लागि उनको महँगो मोबाइल चल्थ्यो तर अब उनको दैनिकी फेरिएको छ ।

krishi-homeउनका थुप्रै मोबाइल एप्लिकेसनको भीडमा अहिले ‘कृषि घर’ भनिने नयाँ एप्स थपिएको छ । अब उनको पहिलो हात कृषि घरमा जाने छ । शनिबार यही एप्स चलाइरहेका बेला ऊ सँग भेट भयो ।

“खेतीबाली सम्बन्धी गतिविधि मात्रै होइन रोग किरा र त्यसको नियन्त्रणका उपाय सबै रहेछन्, यो त हामी किसानलाई ठूलै फाइदाको कुरा हो,” उनले एप्स देखाउँदै भनिन् – “अहिले बोडी घरमा छ । त्यही बोडीको बारेमा हेरिरहेकी ।”

कृषि घर एप्लिकेसन चलाउन उनले राम्ररी सिकिन् पनि । समस्या र समाधान मात्रै होइन कृषि विज्ञको सम्पर्क नम्बरसमेत रहेकाले खेतमै बसेर सबै काम गर्न सकिने देखिएको उनले बताइन् । चितवनमा बसेर अन्य जिल्लाका गतिविधिसमेत मोबाइलबाटै हेर्न सकिन्छ ।

उनको १० कट्ठा जग्गा छ । तिल, धान, तोरी र मुसुरो लगाउँदै आएकी छिन् । यसअघि खेती बालीमा रोग किरा देखिए कृषि कार्यालय पुग्नुपथ्र्यो उनलाई । फोन फेला नपारे धाउनुको विकल्पै थिएन तर यो नयाँ मोबाइल एप्स हालेपछि सानातिना कुरा खेतबाटै समाधान गर्न सकिने भएको छ ।

अर्की किसान धना अधिकारीले बीचैमा भनिन् – “मोबाइलमा हेरेर कृषिसम्बन्धी धेरै जानकारी पाइयो । बालीमा लाग्ने रोग पनि हेर्न पाइने रहेछ । ठूलो फाइदा हुनेरहेछ ।” उनको खेतमा पनि धान, मकै लाग्छ । रोग किराले विगतमा धान भसक्कै बिग्रिएको अनुभव उनीसँग छ । कृषि सेवा केन्द्रमा धाएर बल्ल बल्ल प्रविधिज्ञलाई ल्याउँदासम्म ढिला भइसक्थ्यो ।

“अब यो झन्झट चाहिँ नहोला जस्तो छ,” मोबाइलमा रहेको कृषि घरका जानकारी हेर्दै उनले भनिन् – “किसानलाई साँच्चै नै यसले सहयोग गर्छ ।”

“अब बाली लगाउँदा पहिले मोबाइल हेर्छु अनि काम अघि बढाउँछु,” उनले भनिन् । चितवन तरकारी, खाद्यान्न बाली र फलफूल उत्पादनका दृष्टिले अब्बल जिल्ला भएकाले पनि एप्सको प्रयोग आवश्यक छ ।

उनीहरु जस्तै १४ जना किसानले कृषि घरबारे जानकारी लिएका छन् । उनीहरुमार्फत गाउँगाउँमा जानकारी दिइने छ । किसानले कुनै समस्याको प्रश्न पठाए यसले उत्तर पनि दिने भएकाले किसानलाई सहज बनाउने धनाको भनाइ छ ।

कृषकलाई प्रविधिसँग जोड्न यो एप्स ल्याइएको हो । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले यो एप्स ल्याएको हो ।

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरु किसान समूहबीच हस्तान्तरण गर्न एप्स उपयोगी छ । यसमा सम्भावना र समस्याबारे किसानलाई जानकारी दिने व्यवस्था गरिएको छ । राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापन र आइसिटी इन एग्रिकल्चर नेपालको सहयोगमा उक्त एप्स किसानमाझ ल्याइएको हो ।

किसानले हातैमा जानकारी पाउने र समस्याहरु आफैँले पत्ता लगाउन सक्ने प्रविधि यो कृषि घरमा राखिएको युएनडिपीका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले जानकारी दिए।

उहाँले यो कृषि घर पहिलो पटक सिन्धुपाल्चोकका किसानलाई जानकारी दिएर चितवनमा दोस्रो पटक सार्वजनिक गरिएको बताए ।

एवम् रितले पहिलो चरणमा नेपालका सात जिल्लामा यसलाई प्रयोगमा ल्याइने छ । यसपछि देशव्यापी पार्ने योजना रहेको केसीले बताए। अहिले चितवन र सिन्धुपाल्चोकसहित दोलखा, सुर्खेत, धादिङ, स्याङ्जा र काभ्रेमा प्रविधि लैजाने गरी काम भइरहेको छ ।

कृषि घर मोबाइल एप्स नेपालका विभिन्न क्षेत्रमा किसान आफैँले आफ्नै मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

आफ्नो क्षेत्र र बाली रोजेर समय, स्थान तथा सान्दर्भिक कृषि उत्पादनका लागि आवश्यक सूचना, जानकारी, प्रविधिसम्बन्धी सेवा प्रदायक निकायबाटै जानकारी प्राप्त हुन्छ । यसमार्फत श्रव्य दृश्य सामग्रीसहित बाली रोगका विभिन्न समस्या समाधानका उपाय किसानले नै पत्ता लगाउन सक्ने छन् ।

यस्तै, प्रयोग गर्नुपर्ने रासायनिक मल, विषादीको उचित प्रयोग, बाली व्यवस्थापन प्रविधिजस्ता अत्यावश्यक सामग्री मोबाइलमै हेर्न सकिने जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताए ।

कृषि व्यवसायमा मौसमको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुले मोबाइलबाटै मौसमको जानकारी लिन सक्छन् । यस्तै उद्यमी तथा व्यावसायिक कृषक समूह, कृषि बजार तथा तरकारीको मूल्य सूचीसमेत यसमा राखिएका छन् ।

पचहत्तरवटै जिल्लाका महत्वपूर्ण गतिविधि र जानकारीसमेत एप्समार्फत नै हेर्न सकिने भएकाले किसानको साथी नै हुने एप्स बनाउने आइटीका विज्ञ हृदय कँडेलले बताए ।

विसं २०११ देखि नै किसानका लागि भनेर बनाउन थालिएकामा अहिले पूरा भएको उहाँले जानकारी दिए ।  यहाँ प्राप्त सबै सूचना वैज्ञानिक भएकोउनको भनाइ छ । कृषि मन्त्रालयअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बुढाथोकी नेपाल जस्तो कृषि प्रधान देशमा यसको प्रयोगले किसानलाई मनग्य फाइदा पुग्ने बताउँछन् ।

आयस्रोत वृद्धि गरी किसानको जीवनस्तर उकास्न यो प्रविधि सहयोगी हुने विज्ञले बताएका छन् । यस्तै, यसबाट कृषि प्रसार सेवालाई प्रभावकारी बनाउन र कृषि प्रविधिलाई परिणाममुखी बनाउन सहयोग हुन्छ ।

किसानलाई उनीहरुको मागअनुसार शीघ्र प्राविधिक सेवा उपलब्ध हुनेछ ।

कृषि बिमा, सामयिक नीति र खेतीका कार्यविधिसमेत राखिएकाले किसानका लागि सहयोगी हुने कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बुढाथोकीले उल्लेख गरे ।

कसरी प्रयोग गर्ने ?

यो प्रयोग गर्न निकै सरल छ । एनड्रोइड मोबाइल भएका किसानले आफ्नो मोबाइलमा प्ले स्टोर एप्स खोल्ने । त्यसमा कृषि घर पचष्कजष् नजबच टाइप गरी सर्च गर्ने र डाउनलोड गर्ने । त्यसमा क्लिक गरेपछि मुख्य मेनु खुल्छ । त्यसमा ‘गृह पृष्ठ’, ‘जानकारीहरु’ र ‘मेरो कृषि’ तीन वटा अप्सन दिइएको हुन्छ ।

गृह पृष्ठ विभिन्न जानकारी, मौसम, कृषि डायरी, नयाँ जानकारी, तरकारी मूल्य, कृषि समाचार, जानकारी प्रदायक संस्था, सफलताका कथालगायत जुन मन लाग्छ त्यसमा गएर जानकारी लिन सकिने छ ।

यस्तै, जानकारीहरुमा प्रशिक्षण तालिम, विभिन्न तरकारीखेती, रोग किराबारे जानकारी लिन सकिने छ । बाली लगाउने तरिका र विभिन्न जानकारीमूलक विषय यहाँ पाइन्छ ।

आफूलाई चाहिएको विषय छानेर क्लिक गरेपछि पूर्ण जानकारी पाइने आइटी विज्ञ कँडेलले बताउनुभयो । रासस