शिक्षक तालिम अनलाइनबाटै

शिक्षक तालिम अनलाइनबाटै

कान्तिपुर संवाददाता , काठमाडौं

असार ४, २०७४- शैक्षिक जनशक्ति विकास केन्द्रले माध्यमिक तह ११ र १२ कक्षा पढाउने शिक्षकलाई अनलाइन विधिबाट तालिम दिन सुरु गरेको छ । यसअघि पत्राचार, आमने–सामने, रेडियोमार्फत शिक्षकलाई तालिम दिने गरेकोमा यसपटक परीक्षणका रूपमा अनलाइनबाट सुरु गरेको हो ।

विश्वविद्यालयहरूले उच्च शिक्षा अध्ययन गर्न दूरशिक्षाको जुन विधि अपनाउने हो, त्यहीअनुसार तालिम सुरु गरिएको केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ र नुवाकोटका २२ शिक्षकले अनलाइनमा आधारित तालिम लिइरहेका छन् । केन्द्रले कक्षा ११ र १२ पढाउने शिक्षकलाई यसपटक पहिलोपटक अनलाइनमा आधारित तालिममा सहभागी गराएको हो । ‘सामुदायिक विद्यालयमा ११ र १२ पढाउने शिक्षकलाई पहिलोपटक प्रविधिमा आधारित तालिम सुरु गरेका छौं,’ केन्द्रका उपनिर्देशक बौधराज निरौलाले भने । केन्द्रले तालिममा सहभागी २२ शिक्षकलाई तीन दिन अनलाइन विधिबाट गरिने तालिमको जानकारी गराएका छन् । शिक्षकहरूले अनलाइन विधिबाट कसरी तालिम सञ्चालन हुन्छ ? भन्ने तीनदिने आमने–सामने तालिमबाहेक ८७ दिन वेबसाइटमा उपलब्ध सामग्री अध्ययन गर्नुपर्ने हुन्छ । दैनिक कार्य सम्पादनमा आधारित गृहकार्य/परियोजना सञ्चालन तथा अनलाइन पृष्ठपोषणका आधारमा परीक्षा दिनुपर्ने हुन्छ । तीनमहिने तालिममा सिकाइको विषयवस्तुलाई ४ ‘युनिट’ मा विभाजन गरिएको छ । त्यसमा शिक्षण रणनीति, सिकाइ सिद्धान्त, अनुसन्धानमा आधारित शिक्षण र शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग छन् ।

एउटा विषयवस्तु तीन सातामा सकाउनुपर्ने हुन्छ । ‘शिक्षकहरू दिनहुँ सहभागी हुनुपर्छ भन्ने छैन,’ निरौलाले भने, ‘तोकिएको समयमा दिएको कार्य पूरा गरे हुन्छ ।’ तर, तोकिएको समयमा सञ्चालन गरिने अनलाइन अन्तक्र्रियामा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । यो तालिमको मूल्यांकन नियमितता तथा सहभागिता, गृहकार्य, परियोजना कार्य, लिखित परीक्षाका आधारमा हुने केन्द्रले जनाएको छ ।
शिक्षा संकाय अध्ययन नगरी ११ र १२ पढाइरहेका शिक्षकलाई तालिममा सहभागी गराइएको छ । तालिममा सहभागी हुन कम्प्युटरको आधारभूत ज्ञान आवश्यक पर्छ । ‘प्रविधिको विकाससँगै कार्यथलोमै अनलाइनमा बसेर शिक्षकको क्षमता विकासको थालनी गरेका छौं,’ केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईंले भनिन्, ‘यो परीक्षणका रूपमा लागू गरिरहेका छौं । यदि यो विधि सफल भयो भने तल्लो तहका शिक्षकलाई पनि तालिम दिन थाल्छौं ।’ तीनमहिने अनलाइनमा आधारित तालिम फेस टु फेसको १ महिनाबराबरको समकक्षता दिने विषयमा छलफल भइरहेको उनले बताइन् । शिक्षाको बजेट बर्सेनि घटदै गइरहेको अवस्थामा कम खर्चमा शिक्षकको क्षमता विकास अनलाइनबाट तालिम दिने विधि उपयुक्त हुने हुने सरोकारवालाहरू बताउँछन् ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) ले पनि विद्यालय तहमा सूचना सञ्चार प्रविधिको प्रयोगमा विशेष जोड दिएको छ । ‘अनलाइन विधिबाट प्रशिक्षक तथा शिक्षकहरूको घरमै बसेर पेसागत क्षमता विकास गरी शिक्षाको गुणस्तर सुधार गर्न तालिम सञ्चालन गरिएको हो,’ केन्द्रका निर्देशक खगेन्द्र नेपालले भने । पूर्ण रूपमा अनलाइन पद्धतिमा सञ्चालन हुने तालिम ‘मुडल’ सिकाइ व्यवस्थापन प्रणालीमा आधारित छ । विद्यालय तहमा अध्यापन गर्ने शिक्षकहरूलाई वैकल्पिक पद्धतिबाट पेसागत विकास तालिम प्रदान गर्ने, अनलाइन पद्धतिको प्रयोग गरी निरन्तर पेसागत क्षमता विकास गर्ने अवसरको सिर्जना गर्ने यो विधिको तालिमले उद्देश्य लिएको केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटा बताउँछन् । ‘विद्यार्थीको लागि भच्र्युअल कक्षा, शिक्षकका लागि अनलाइन माध्यमबाट तालिम दिन सुरु गरेका छौं,’ उनले भने, ‘विद्यालय तहमा प्रविधिको प्रयोग बढिरहेको छ । फेस टु फेस तालिममा सरकारको लगानी पनि बढी हुन्छ । कम खर्चमा बढी फाइदा लिन सकिने यो नै उपयुक्त विधि हो ।’ रेडियोबाट शिक्षक तालिम सुरु भएको ३७ वर्षपछि अनलाइनबाट तालिम दिन थालिएको हो ।

प्रकाशित: असार ४, २०७४

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here