विदेशी पर्यटकलाई अब नेपाल टेलिकमको निःशुल्क सिमकार्ड

 काठमाडौं ।  

विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै नेपाल टेलिकमले निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाबाट बुधबार एक कार्यक्रमबीच निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरीयो।

कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबर्द्धनलाई टेवा पुर्‍याउने काम गरेको बताए । उनले टेलिकमले निःशुल्क सिम वितरण कार्यलाई निरन्तरता दिइरहने विश्वास समेत व्यक्त गरेका छन् ।

टेलिकमले नेपाल पर्यटन बोर्डको सहकार्यमा सिम वितरण सुरु गरेको हो । हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने छ । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने छ भने ५० रुपैयाँको टल भेल्यू समेत सिमकार्डमा रहेको छ ।

नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस भन्ने उद्देश्यसहित पर्यटकलाई निःशुल्क सिम उपलब्ध गराउन थालिएको हो । पर्यटकहरु यदि सम्पर्कविहीन भएमा पनि उक्त सिममार्फत लोकेसन ट्रयाक गरी उद्धार गर्न समेत सहज हुनेछ , जसले गर्दा पर्यटकहरु थप सुरक्षित हुने विश्वास पनि गरिएको छ ।