मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

national innovation center

काठमाडौं– सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबीच दुर्गममा औषधि ढुवानी गर्न स्वचालित यन्त्र ‘मेडिकल ड्रोन’सहित स्वास्थ्य उपकरण निर्माण गर्ने विषयमा सम्झौता भएको छ।

भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा औषधि ढुवानी गर्न समस्या परिरहेको समयमा पुन नेतृत्वको आविष्कार केन्द्रले निर्माण गरिरहेको मेडिकल ड्रोनको विकास र निर्माणपछि त्यसको उपयोगका लागि मन्त्रालयले सहयोग गर्ने समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो।

मेडिकल ड्रोन निर्माणको काम स्वास्थ्य अनुसन्धानसँग जोडिएकाले केन्द्रले निर्माण गरिरहेको ड्रोन निर्माणलाई अगाडि बढाउन स्वास्थ्य अनुसन्धान परिषदसँग स्वीकृति लिनुपर्ने हुन्छ। सम्झौतामा आविष्कार केन्द्रलाई ड्रोन निर्माणसहित ‘इन्क्युभेसन मेसिन’ र प्यारालाइसिस भएकाहरुको सोचाइका आधारमा निर्णय गर्नसक्ने एप निर्माण गर्न समेत स्वीकृति दिने विषयमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, आविष्कार केन्द्रका प्रमुख महाविर पुन र स्वास्थ्य मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले हस्ताक्षर गरेका छन्। परिषदमार्फत् मन्त्रालय र केन्द्रबीच स्वास्थ्य सम्बन्धी विभिन्न अनुसन्धानमा समन्वय गर्ने र विकास गरिएको प्रविधिलाई कार्यान्वयन गर्न सम्झौता गरिएको स्वास्थ्य मन्त्री गगन थापाले बताए। मन्त्री थापाका अनुसार केन्द्रसँग भएको समझदारीले स्वास्थ्य अनुसन्धानको विकासमा ठूलो सहयोग पुग्नेछ। उनले आविष्कार केन्द्रसँग भएको समझदारी अनुसार केन्द्रले आविष्कार गरेका उपकरणहरु दुर्गम क्षेत्रको स्वास्थ्य उपचारका लागि बरदान सावित हुने जानकारी दिए।

‘आविष्कार केन्द्रले निर्माण गर्ने उपकरणलाई मन्त्रालयले प्रयोगमा ल्याउनेछ,’ मन्त्री थापाले भने, ‘भौगोलिक विकाटताका कारण औषधि नै पुर्‍याउन समस्या परिरहेको समयमा मेडिकल ड्रोनले ठूलो योगदान दिन सक्छ।’

महाविर पुनका अनुसार मेडिकल ड्रोनले दुर्गमका गाँउमा औषधि ओसारपसार गर्ने काम गर्नेछ। यो मानवरहित स्वचालित यन्त्र हो। मेडिकल ड्रोनले थोरै परिणाममा औषधि बोक्ने काम गर्ने उनले जानकारी दिए।

‘औषधिको अभाव भएको दुर्गम क्षेत्रमा तुरुन्तै औषधि पठाउन परे यो उपकरण उपयोगी हुनेछ,’ उनले भने, ‘कहिलेकाँही बाढी, पहिरो तथा विभिन्न कारणले बाटो अवरोध भएका क्षेत्रमा ड्रोन मार्फत सहज रुपमा औषधि पठाउन सकिन्छ।’ उनका अनुसार यस्ता ड्रोनले चार-पाँच केजीसम्म औषधि बोक्न सक्नेछन्। मेडिकल ड्रोनले १५ देखि २० किलोमिटर टाढासम्म औषधि ढुवानी गर्न सक्ने पुनले बताए।

पुनका अनुसार मेडिकल ड्रोन विदेशतिर पनि पाइन्छ। तर, केन्द्रले निर्माण गर्ने ड्रोन विदेशका भन्दा आधा सस्तो हुनेछन्। उनले विदेशतिर १५-२० लाख पर्ने यस्ता ड्रोन केन्द्रले ७ लाखमा निर्माण गर्ने जानकारी दिए। ड्रोन निर्माणका लागि नेपाली इन्जिनियरहरु खटिसकेको पनि पुनले जानकारी दिए।

Source

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here