एनसेल एप् क्याम्प २०१५ हुने

काठमाडौं । 
एनसेलको देशकै सबै भन्दा ठूलो मोबाईल एप् प्रतियोगिता एप क्याम्प फेरि आयोजना हुने भएको छ।
मगंलवारदेखि सुरू भएको एप् क्याम्प २०१५मा ईच्छुक सहभागीहरूका लागि आफ्ना आईडिया पेश गर्न आवेदन खुला गरेको एनसेलले जनाएको छ।
एनसेलले प्रतियोगिताको आधिकारिक वेबसाईट www.ncellappcamp.com सार्वजनिक गर्दै प्रतियोगिताको विधिवत घोषणा गरेको हो। वेवसाईटले प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरेको छ र ईच्छुक प्रतियोगिहरूले आफ्नो टिम र एप् आईडिया वेबसाईत मार्फत दर्ता गर्न सक्छन्।
एनसेल एप् क्याम्प २०१५ मा प्रतियोगिहरूले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार वटा विभिन्न विधाहरूमा आफ्ना आईडिया पेश गर्नुपर्नेछ। ‘यी विधाले नेपाली अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु समेटेका छन्। यस सम्बन्धि एपको विकासले यी क्षेत्रको प्रभावकारीता र उत्पादनशीलता बढाउन योगदान पुर्‍याइ जनसाधारणलार्इ लाभ पुर्‍याउन सक्छन् ।
सन् २०१४ मा जस्तै, एनसेल एप् क्याम्प २०१५ पनि चरणगत रूपमा सञ्चालन हुनेछ। पहिलो चरणमा, आवेदन परेका सम्पूर्ण प्रतियोगिहरू मध्ये उत्कृष्ट १५० वटा आईडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागि गराईनेछ। दोस्रो चरणमा, हरेक विधाबाट ६ वटा उत्कृष्ट एप् – अर्थात् कुल २४ टिमलाई – अन्तिम चरणका लागि छनोट गरिनेछ । सोही उत्कृष्ट २४ बाट चार ‘विधा विजेता’ र एक ‘मुख्य विजेता’ को घोषणा गरिनेछ।  टिमहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यक्तित्वहरूबाट सिक्ने मौका पनि प्राप्त गर्नेछन्।
हरेक विधाका विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाख जित्नुको साथै विदेशमा हुने यस्तै किसमको कार्यक्रममा सहभागी हुने अवसर समेत प्राप्त गर्नेछन्।
इच्छुक मोबाइल एप् डेभलपर तथा उत्साहीहरुले चार मध्ये कुनै एक विधामा आफ्नो टिमलाई दर्ता गराउन सक्नेछन् । दर्ता नि:शुल्क रहेको छ । प्रतिस्पर्धामा भाग लिन ईच्छुक प्रतियोगिहरूले असोज ३ गते मध्यान्न १२ बजे सम्ममा आफ्ना आईडिया पेश गरीसक्नु पर्नेछ। सहभागीहरूले एन्ड्रोइड, एप्पल आईओएस, विन्डोज, एसएमएस, जेटुएमई लगायत कुनै पनि प्ल्याटफर्ममा एप् सृजना गर्न सक्छन्।
गत वर्ष भएको एनसेल एप् क्याम्प २०१४ मा प्रारम्भिक चरणमा कुल ४५७ एप् आईडिया प्राप्त भएको थियो र आईसिटि फर अग्रिकल्चर (एप्’को नाम: आईएफए कृषि) मुख्य बिजेता र कृषि विधाको बिजेता बन्न सफल भएको थियो। त्यस्तै सेन्टिनेप, रितिरिवाज, र लिपि (द स्क्रिप्ट) क्रमशः कर्पोरेट सल्युसन, शिक्षा र पर्यटन विधाका विजेता बनेका थिए।