अब सम्भावित दुर्घटनाबाट बच्न बाढी आउनुअघिनै मोबाइलमा सन्देश !

असार २०७३। नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना जल तथा मौसम विज्ञान विभागले अबदेखि मोबाइलमै पठाउने भएको छ । नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले सन्देश पठाउन लागेको हो । विभागका महानिर्देशक डा.ऋषिराम शर्माले यो मनसुनमा अत्यधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीको खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइल सन्देश (एसएमएस) सुरु गर्न लागिएको बताए । बाढीबाट हुने सम्भावित दुर्घटनाबाट बच्न र क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने विभागको अपेक्षा छ ।

डा. शर्माले कान्तिपुरलाई भने,‘बाढी आउँदै छ भन्ने सन्देश आफ्नै मोबाइलमा पाउनेबित्तिकै मान्छे सचेत हुन्छन् र सम्भावित क्षतिबाट बच्न सजिलो हुन्छ,’ ‘यो सेवा मनसुन अवधिभर हुनेछ ।’ यसको औपचारिक सुरुवात २० असारदेखि गरिनेछ । उक्त दिनदेखि बाढीको खतरामा रहेको जलप्रणाली आसपास बस्ने सर्वसाधारणका मोबाइलमा सन्देश पठाउन सुरु गरिनेछ । यो सेवा २४सै घण्टा हुनेछ । त्यसका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको शर्माले बताए । विभागको बाढी पूर्वानुमान शाखाका बाढी भविष्यवाणीविज्ञ विनोद पराजुलीका अनुसार मोबाइल सन्देश चार किसिमको हुनेछ । सन्देश यस्तो हुनेछ, ‘बाढी आउँदैछ सचेत हुनुस्, बाढीले चेतावनी तह पार गरेको छ, खतराको तह पार गरेको छ र अब खतरा छैन घर फर्कन सक्नुहुन्छ ।’ सन्देश नेपाली भाषामा हुनेछ ।

सूचना जल तथा मौसम विज्ञान विभागले मुलुकका मुख्य ११ नदीमा ‘रियल टाइम बेसिस’मै जलसतह नाप्ने यन्त्र जडान गरेको छ । ती यन्त्रले पानीको सतह चेतावनीभन्दा तल रहेको र चेतावनी तह नाघेको गरी दुई किसिमको सन्देश दिन्छ । चेतावनी तह नाघ्नेबित्तिकै घण्टी बज्ने प्रणाली जडान गरिएको छ । ‘ती यन्त्रले एसएमएसका माध्यामबाट पठाउने सन्देशलाई हामीले सर्वसाधारणलाई प्रवाह गर्न लागेका हौं,’ विज्ञ पराजुलीले भने ।

यसैगरी पहिरोबाट जोगिन २० गतेदेखि नै भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणलाई समेत मोबाइल सन्देश दिइँदैछ । ‘भारी वर्षाले भूकम्प प्रभावित १४ जिल्लामा पहिरोको जोखिम भएकाले जोगिन सन्देश दिन लागिएको हो,’ पराजुलीले भने ।