सूचना प्रविधीको अध्ययनका लागि जान्नैपर्ने केही कुराहरू

आइटी पढ्ने विद्यार्थीहरुले प्रथमतः कुन कोर्ष कुन यूनिभर्सिटीको हो, कत्तिको update छ, त्यसको जानकारी लिनुपर्छ । विद्यार्थी भाइवहिनीहरु कलेज छान्दा निकै सचेत हुनु पर्छ । 

सूचना प्रविधीको अध्ययनका लागि सचेत हुनुपर्ने केही कुराहरू:

  1. मेरो अनुभवमा नेपालमा स्नातक तहको अध्ययनका लागि नेपालका विश्वविद्यालयहरुले बिभिन्न नामका सूचना प्रविधीका पाठ्यक्रमहरु उपलब्ध गराइरहेका छन् । जस्तैः बि.सि.ए., बि.आई.टी., बि.आई.एम., बि.एस्सी. कम्प्युटर साइन्स, बि.एस्सी. कम्प्युटर साइन्स एण्ड आई.टी., बि.सि.आई.एस., बि.ई. कम्प्युटर, बि.ई. आई.टी., बि.ई. सफ्टवेयर ईन्जिनियरिङ्ग आदी ।
  2. सूचना प्रविधीको क्षेत्रमा कुन विश्वविद्यालय, कुन पाठ्यक्रम भन्नुभन्दा सिपको मुल्याङ्कन बढी हुने हुँदा आफूले गर्न चाहेको के हो र आफ्नो उद्देश्य के हो भन्ने कुरामा सचेत हुनु जरुरी छ ।
  3. आफ्नो उद्देश्य पुर्तीका लागि हामीले रोजेको कोर्समा उपयुक्त पाठ्यक्रम उपलब्ध छ छैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ ।
  4. पाठ्यक्रममा बिषयका नाम उस्तै देखिए पनि त्यसमा प्रयोगात्मक भार कति छ र त्यसको बिषयगत गहिराई कति छ र पाठ्यक्रम योजनाबद्ध छ कि छैन भन्ने हेर्नु पनि जरुरी छ । कुन पाठ्यक्रमले हामीलाई कस्तो पेशामा प्रवेश गराउँछ र उक्त पेशामा त्यसले पछिसम्म पार्ने प्रभाव के हो भन्ने पनि बुझ्नु जरुरी छ ।
  5. दश जोड दुईमा कम्प्युटर विज्ञान पढ्दैमा हामीले सूचना प्रविधीको अध्ययन गर्न पाउँछौ भन्ने सुनुश्चितता गर्न सकिदैंन । देश वा विदेशमा उपलब्ध केहि शैक्षिक कार्यक्रमका लागि दश जोड दुईमा विज्ञान विषय लिएर पढेकै हुनुपर्ने वाध्यता छ ।
  6. तर नेपालमा हामीले जुनसुकै संकायबाट दश जोड दुई वा समकक्षी योग्यता हासिल गरेका विद्यार्थीहरुले बि.सि.ए. तथा बि.आई.टी. कार्यक्रममा भर्ना भई सूचना प्रविधीको अध्ययन गर्न पाउने व्यवस्था छ । कम्प्युटर विज्ञानलाई सूचना प्रविधीसँग जोडेर हेर्न मिल्दैन भन्ने तथ्यलाई पनि मध्यनजर गर्नुपर्दछ ।
  7. सिधै कलेजमा पुगेर त्यहाँ उपलब्ध भएका कार्यक्रमहरुका बारेमा बुझ्नुभन्दा पहिले अन्य माध्यमद्वारा त्यस सम्बन्धमा जानकारी लिई आफूलाई उचित लागेको र वैधता कायम भएको कार्यक्रममा भर्ना भई अध्ययन गर्नु राम्रो हुन्छ ।
  8. कलेजका विषयमा त्यस कलेजले प्रदान गर्ने सुविधा, उपलब्ध विज्ञ/शिक्षक/प्राध्यापकहरु, कलेजबाट दिक्षित विद्यार्थीहरुले हासिल गरेका उपलब्धीहरु, त्यस कलेजमा उपलब्ध प्रयोगशाला, श्रोत र साधनहरु लगायत त्यस कलेजको अन्तराष्ट्रिय मुल्य तथा मान्यताको विषयमा पनि हेर्नुपर्ने हुन्छ ।
  9. साथमा आफूले पढ्न चाहेको विषयको क्रेडिट र त्यसको अन्तराष्ट्रिय समकक्षताको बारेमा के व्यवस्था छ भन्ने पनि हेर्नुपर्दछ । उक्त विषयको प्रयोगात्मक भार र विषयगत उपयोगिता तथा प्रायः अन्तिम सेमेष्टरमा पढाई हुने ऐच्छिक विषयको उपलब्धताको बारेमा पनि उत्तिकै जानकार हुनुपर्दछ ।
  10. यदि तपाईंलाई सूचना प्रविधीको क्षेत्रमा वेब तथा कम्प्युटर प्रोग्रामर, नेटवर्क विषेषज्ञ, डाटावेश विषेषज्ञ, सिस्टम अनालिष्ट, सफ्टवेयर टेष्टर, नेटवर्क सेक्युरिटी विषेषज्ञ, सफ्टवेयर डिजाइनर, नेटवर्क व्यवस्थापक, सूचना प्रविधी विश्लेषण सम्बन्धि क्षेत्रमा आफ्नो भविष्य निर्धारण गर्ने लक्ष्य छ भने निश्चयनै बि.सि.ए. को पाठ्यक्रम उपयुक्त हुन्छ ।
  11. तपाईंलाई थप रुपमा आर्टिफिसियल ईन्टेलिजेन्स, ईमेज प्रोसेसिङ, रोबोटिक्स, डाटा कम्युनिकेसन, डाटा माइनिङ आदि क्षेत्रमा अवसर चाहनुहुन्छ भने बि.आई.टी. को पाठ्यक्रम उचित हुन्छ ।
  12. उल्लेखित बाहेक सूचना प्रविधीमा अन्य धेरै क्षेत्रहरू छन्, जसको सहज उपयोग तथा पहुँचका लागि तपाईंलाई बि.सि.ए. तथा बि.आई.टी. का पाठ्यक्रमले सुनौला ढोका उघारिदिनेछन् ।
  13. आज विश्व सूचना प्रविधीको विश्लेषण गर्ने हो भने बि.आई.टी. तथा बि.सि.ए. पाठ्यक्रम पढेका विद्यार्थीहरुको नेपाल लगायत भारत तथा विश्वका अन्य मुलुकहरुमा उच्च माग हुनुले यसको पुष्टी पनि गर्दछ ।
  14. बि.आई.टी. र बि.सि.ए. यस्ता पाठ्यक्रम हुन्, जुन समय-सापेक्ष किसिमले बजारको नयाँ आवश्यकतालाई पूर्ति गर्ने हिसाबले परिमार्जित भइरहन्छन् ।
  15. विश्व बजारको बढ्दो मागलाई ध्यानमा राखेर हालैमात्र बि.सि.ए. कार्यक्रमलाई चार वर्षे बनाईएको छ भने, बि.सि.ए. तथा बि.आई.टी.को पाठ्यक्रममा हरेक सेमेष्टरमा अनिवार्य प्रोजेक्टको व्यवस्था गरिएकोले पठन-पाठनमा पढिएको सफ्टवेयर टेक्नोलोजीलाई हामीले सोही सेमेष्टरमा प्रयोग गरि देखाउनुपर्ने हुन्छ जसले गर्दा हाम्रो सफ्टवेयर बनाउने क्षमता, त्यसको डकुमेन्टेसन (रिपोर्ट) र प्रेजेन्टेसनले गर्दा धेरै हदसम्म ईन्टर्नसीपको आवश्यकतालाई न्युनिकरण गर्दछ ।
  16. ईन्टर्नसीपमा तपाईंले जुन संस्थामा ईन्टर्न गरिरहुनुभएको छ उसले प्रयोग गर्न टेक्नोलोजी र त्यस संस्थाको परिधीभित्र रहेर कार्य गर्नुपर्ने बाध्यता हुन्छ भने सेमेष्टर प्रोजेक्टमा तपाईंले बजारमा उपलब्ध तथा तपाईंले पढ्नुभएका हरेक टेक्नोलोजीको उपयोग गर्ने अवसर पनि मिल्नेछ ।
  17. लगभग १४० क्रेडिटको भार पढ्नुपर्ने यी दुवै कोर्समा पहिलो दुई सेमेष्टरमा सूचना प्रविधीको सुरुवाती तथा अनिवार्य ज्ञान दिईन्छ भने तेस्रो सेमेष्टरदेखि सूचना प्रविधीको भित्री अत्यावश्यक ज्ञानको पठनपाठन हुन्छ । अन्तिम दुई सेमेष्टरमा ऐच्छिक विषय (विशेषज्ञता)को पनि व्यवस्था गरिएको हुनाले पनि देश तथा विदेशमा प्राध्यापक तथा अनुसन्धान केन्द्रहरुले बि.सि.ए. तथा बि.आई.टी. अध्ययन गरेका बिद्यार्थीहरुलाई विशेष प्राथमिकता दिनुले पनि पुष्टी गर्दछ ।
  18. बजारमा हाल उच्च माग देखिएको स्मार्ट मोबाईल टेक्नोलोजी (आई.ओ.एस. तथा एण्ड्रोइड मोबाईल एप्लिकेशन) डेभलपमेन्ट पनि समेटी सकेको बि.सि.ए. तथा बि.आई.टी. कोर्सको बजारमा प्रतिस्पर्धा गर्न सक्ने कुनै पनि अन्य कोर्स छैन भन्ने कुराको पुष्टी यसको अध्ययन गरेर उच्च ओहोदा हासिल गरेका व्यक्ति तथा बजारमा यिनका माग तथा बिभिन्न बिश्लेषणहरुले देखाइसकेका छन् ।
  19. यदि तपाईंले बि.सि.ए. अथवा बि.आई.टी. पढ्ने मानसिकता बनाइसक्नुभएको छ भने अब तपाईंले पढ्न चाहेको कलेजसँग उपर्युक्त पुस्तकालय, कम्प्युटर ल्याब, दक्ष अध्यापक तथा अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने बुझ्नु अति जरुरी छ ।
  20. त्यसबाहेक उक्त कलेजको ईतिहास र त्यसबाट उत्पादित जनशक्तिको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहुँच तथा रोजगारी तथ्याङ्क हेर्नुपर्ने हुन्छ ।
  21. कलेजको बजारमा सामाजिक सम्बन्ध तथा भइरहेका सूचना प्रविधी सम्बन्धि प्रतियोगिता, सेमिनार, वर्कसप तथा अन्य कार्यक्रममा रहने सहभागिताको पनि ठूलो अर्थ रहन्छ ।
  22. देखावटी सजावटमा भन्दा सुविधामा केन्द्रित हुनपर्ने मानसिकता बनाई कुनै कलेजले कतिवटा पुस्तक दिन्छ र उसको पुस्तकालयमा कतिवटा पुस्तक छ भन्नुभन्दा पाठ्यक्रमले निर्धारण गरेका र आवश्यक पाठ्यपुस्तक छ वा छैन हेर्नुपर्दछ ।
  23. कोर्स भन्दा पछाडी आवश्यक पर्ने अतिरिक्त ज्ञान उपलब्ध गराउन सक्ने पुस्तकको उपलब्धता पनि हेर्नुपर्दछ ।

चन्द्रविलास भूर्तेल (पूर्व अध्यक्ष, सूचना प्रविधी समाज (ITS) नेपाल)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *