साढे ४ अर्ब डलरमा बिक्यो याहु, कार्यकारी मेरिसाले दिइन् राजीनामा

अमेरिकी टेलिकम कम्पनी भर्जन कम्युनिकेसनले ४ अर्ब ४८ करोड डलरमा इन्टरनेट कम्पनी याहुको मुख्य व्यवसाय खरीद गर्ने सम्झौता गरेको छ । योसँगै याहुकी मुख्य कार्यकारी अधिकृत मेरिसा मायरले पदबाट राजीनामा दिएकी छिन् ।

सम्झौतासँगै प्रविधि क्षेत्रको अग्रणी कम्पनी याहुको युग समाप्त भएको छ । कुनै बेला इन्टरनेट उद्योगमा बर्चश्व कायम गरेको याहुको मूल्य १ खर्ब डलर सम्म पुगेको थियो । तर व्यवसाय ओरालो लागेसँगै याहुलाई बल्लतल्ल साढे ४ अर्ब डलरमा खरीद गर्न अमेरिकी नम्बर वान वायरलेस अपरेटर भर्जन कम्युनिकेसन कम्पनी तयार भएको हो ।

मंगलबार याहुका कर्मचारीहरुलाई लेखेको इमेलमा याहु सिइओ मायरले आफ्नो भूमिकामा आएको परिवर्तनसँगै आफूले कम्पनी छाड्न लागेको बताएकी छिन् । तर आफूले याहुमा काम गर्दाका दिनहरु सधैं सम्झना गरिरहने र सधैं कृतज्ञ तथा आशावादी रहिरहने मायरले उल्लेख गरेकी छिन् ।याहु खरीद गरेसँगै भर्जनले यसलाई एओएलसँग मर्ज गर्नेछ । बहुराष्ट्रिय आमसञ्चार कम्पनी एओएललाई भर्जनले दुईवर्ष अघि मात्र खरीद गरेको थियो । भर्जनले अब याहुलाई ओथ नामक नयाँ भेन्चरमा समाहित गर्नेछ जसको नेतृत्व एओएलका सिइओ टिम आर्मस्ट्रंगले नेतृत्व गर्छन् । ओथसँग हफिंटन पोष्ट, टेक क्रन्च, टम्ब्लर जस्ता ५० भन्दा बढि लोकप्रिय ब्राण्ड रहेका छन् ।

उता ओथका प्रमुखले आफू मातहतका सबै कर्मचारीहरुलाई एक वक्तव्य दिँदै संयुक्त कम्पनीका सेवाहरु हरेक महिना एक अर्ब भन्दा बढि मानिसहरुसम्म पुग्ने भन्दै हाम्रो लक्ष्य र उद्देश्यहरु पूरा गर्नका लागि नयाँ कम्पनीमा समाहित हुनु आवश्यक रहेको बताएका छन् ।

याहुको डाटा लिक भएका दुईवटा घटना सार्वजनिक भएसँगै गत जुलाईमै घोषणा गरिएको खरीद सम्झौताले अन्तिम रुप पाउन ढिलाई भएको थियो ।

रोयटर्सका अनुसार भर्जनले याहु र एओएल कम्पनीमा कार्यरत २ हजार कर्मचारी कटौतिको योजना बनाएको छ । यो भनेको ती कम्पनीमा कार्यरत कुल कर्मचारीको १५ प्रतिशत हो । केही दिनमै भर्जनले कर्मचारी कटौतिको घोषणा गर्ने बताइएको छ । याहुले गत वर्षमात्रै आफ्ना १५ प्रतिशत कर्मचारी कटौति गरेको थियो भने एओएलले पनि ५ सय कर्मचारीलाई जागिरबाट निकालेको थियो ।

यता, भर्जनले मूख्य व्यवसाय खरीद गरिसकेपछि याहु कम्पनीको नाम नामेट हुनेछ र याहुका बिक्रि नभएका रहेका प्रोजेक्ट तथा व्यवसायलाई राख्ने गरी अल्टाबा कम्पनी नामाकरण गरिनेछ । एक होल्डिङ कम्पनीको रुपमा अल्टाबाको सम्पत्ति अलिबाबा ग्रुप होल्डिङ लिमिटेडमा १५.५ प्रतिशत शेयर तथा याहु जापान कर्पमा ३५.५ प्रतिशत शेयर रहनेछ ।

याहुका बोर्ड सदसय थोमस म्याकइनर्ने अल्टाबाको सिइओ बन्नेछन् ।

एजेन्सीको सहयोगमा

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here