What is a Digital Signature? How to Get your own Digital Signature ?

के हो डिजिटल हस्ताक्षर ? डिजिटल हस्ताक्षर कसरी लिने ?  

विद्युतीय कारोबार ऐन आएको ९ वर्षपछि विद्युतीय अभिलेखले कानूनी मान्यता पाउने आधारका रूपमा डिजिटल हस्ताक्षरको थालनी भएको छ । विद्युतीय कारोबारलाई कानूनी दायरामा ल्याउने र व्यवस्थित गर्ने उद्देश्यले सरकारले २०६३ मा सो ऐन ल्याएको थियो । विद्युतीय कारोबार र इण्टरनेटको संसारमा सूचनाको सुरक्षा र प्रमाणीकरणको विषय गम्भीर रहँदै आएको सन्दर्भमा डिजिटल हस्ताक्षरको थालनी भएको हो । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले यसको नियमन तथा अनुगमनको काम गर्ने गरेको छ । गत हप्तादेखि नेपालमै पहिलोपटक शुरू भएको डिजिटल हस्ताक्षर प्रयोग विस्तार हुने चरणमा छ ।

नियन्त्रकको कार्यालयबाट अनुमति प्राप्त प्रमाणीकरण निकाय (सीए)ले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्नसक्ने विद्युतीय कारोबार ऐनमा व्यवस्था छ । हाल रेडियण्ट इन्फो टेक नेपाल एकमात्र विद्युतीय हस्ताक्षर जारी गर्ने सीएको रूपमा देखिएको छ । अन्य कम्पनीले यस किसिमको अनुमतिका लागि निवेदन नदिएकाले अहिलेलाई एउटामात्र प्रमाणीकरण निकाय रहेको नियन्त्रक वीरेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘आवश्यक प्रक्रिया तथा पूर्वाधार पूरा गरी निवेदन आएमा अन्य कम्पनीलाई पनि अनुमति दिन सकिन्छ,’ उनले भने । नियन्त्रकको कार्यालयअन्तर्गत डिजिटल हस्ताक्षरका लागि ‘रूट इन्फ्राष्ट्रक्चर’ रहेको छ । सीएको ‘पब्लिक की इन्फ्राष्ट्रक्चर’ (पीकेआर्ई) रूट इन्फ्राष्ट्रक्चरसँग जोडिएको हुन्छ । यस प्रणालीमार्पmत नियन्त्रकको कार्यालयले प्रमाणीकरणसम्बन्धी गतिविधिको अनुगमन गर्ने गरेको छ ।

डिजिटल हस्ताक्षरयुक्त सामग्रीहरूले अब कानूनी मान्यतासमेत पाउनेछन् । कुनै सूचना, लिखत, अभिलेख वा अन्य कुनै कुरामा कुनै व्यक्तिको हस्ताक्षर गरिएको हुनुपर्ने भनिएको ठाउँमा अब विद्युतीय अभिलेख डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको अवस्थामा पनि कानूनी मान्यता प्राप्त गर्नेछन् ।

Digital Signature in Nepal

के हो डिजिटल हस्ताक्षर    ?
प्रिण्ट गरिएका कागजातमा प्रमाणीकरणका लागि हस्ताक्षरको प्रयोग भएजस्तै समान प्रयोजनका लागि डिजिटल तथा विद्युतीय सामग्रीमा हुने एक किसिमको हस्ताक्षर नै डिजिटल हस्ताक्षर हो । यसबाट वास्तविक निवेदकको पहिचान अथवा प्रामाणिकता हुन्छ । तर, यस्तो हस्ताक्षरलाई प्रत्यक्ष रूपमा देख्न भने सकिन्न । सूचनामूलक सामग्रीमा डिजिटल हस्ताक्षर गोप्यरूपमा समावेश भएको हुन्छ । डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्नेले यस्तो हस्ताक्षर गोप्य राख्नुपर्ने हुन्छ । यस्तो हस्ताक्षरको सुरक्षा गर्नु सम्बन्धित प्रयोगकर्ताको दायित्वसमेत हो ।

सम्बन्धित हस्ताक्षरकर्ताको सार्वजनिक साँचो भएको व्यक्तिले विद्युतीय अभिलेखलाई दुरुस्तसँग निर्धारण गर्नसक्ने एसिमेट्रिक क्रिप्टो सिष्टमयुक्त विद्युतीय अभिलेखमा समावेश भएको विद्युतीय स्वरूपको हस्ताक्षर हो । हस्ताक्षरकर्ताको सार्वजनिक साँचोसँग सङ्गति राख्ने निजी साँचोमार्फत विद्युतीय अभिलेख रूपान्तरण भएको छ वा छैन भन्ने पत्ता लगाउन र प्रामाणिक आधारका लागि यस्तो हस्ताक्षर महŒवपूर्ण मानिन्छ ।

डिजिटल हस्ताक्षर कसरी लिने ?
यस किसिमको डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्न चाहने कुनै पनि व्यक्तिले तोकिएको ढाँचामा आवश्यक विवरणहरू संलग्न गराई निर्धारित शुल्क तिरेर सीएको रूपमा रहेको प्रमाणीकरण निकायका रूपमा रहेको रेडियण्टसमक्ष निवेदन दिनुपर्ने छ । सम्बन्धित सीएले निर्धारित कार्यविधि पूरा गरेको भए निवेदकलाई डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने गर्छ ।

रेडियण्टको व्यवस्थापन सहयोगीका रूपमा रहेको नेपाल सर्टिफाइङ कम्पनीका अनुसार डिजिटल हस्ताक्षरलाई उपयोगिताका आधारमा तीन वर्गमा विभाजन गरिएको छ, जसको मूल्य पनि फरकफरक हुनेछ । तीन वर्गका प्रमाणपत्रलाई पनि व्यक्तिगत र संस्थागत भनी उपविभाजन गरिएको छ । गत बुधवारदेखि शुरू गरिएको ‘क्लास २’को व्यक्तिगत डिजिटल हस्ताक्षर र सोको प्रमाणपत्रमार्फत ग्राहकले विद्युतीय अभिलेखलाई प्रमाणित गर्नसक्छ । यसका लागि ग्राहकले टोकनसहित वार्षिक २ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसमार्फत सरकारी कागजपत्रमा हस्ताक्षर गर्न, फाराममा हस्ताक्षर, ग्राहक तथा सेवाग्राहीलाई अनुमति, ई–कमर्श कारोबार, इमेलमा हस्ताक्षर तथा इन्क्राइप्ट गर्न सकिने सर्टिफाइङ कम्पनीका प्रमुख सञ्चालन अधिकृत नारायण न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रत्येक क्लासअनुसार सम्भावना र उपयोगितासमेत निर्धारण गरिसकिएको छ । ‘अबको १ महीनाभित्र सबै क्लासका डिजिटल हस्ताक्षर प्रमाणपत्र सार्वजनिक गर्नेगरी काम चलिरहेको छ,’ उनले भने । डिजिटल हस्ताक्षरले महवपूर्ण सामग्रीको गोपनीयताका साथै सम्भावित दुरुपयोगलाई समेत नियन्त्रणमा सहयोग पुर्‍याउने उनले बताए ।