के टेलिभिजन विस्थापित हुँदैछ ?

 

नितेश उपाध्याय

 असार ११, २०७४-
४० को दशकतिर टेलिभिजनमा मध्यमवर्गीय नेपालीको पहुँच बढ्दै गयो । आकारभन्दा बढी तौल र श्यामश्वेत अर्थात् कालो–सेतो चित्र हुने भए पनि त्यसैलाई मन पराइने एउटा विशेष कारण थियो उक्त टेलिभिजन सेटको, त्यसले त्यो समयमा, त्यो वर्गका मानिसहरूलाई समाचार र मनोरन्जन प्रदान गथ्र्यो, तर समयसँगै त्यसमा धेरै परिवर्तन आए । टेलिभिजन रंगीन मात्र भएन, त्यो पातलिँदै पनि गयो । टेबलमा राखिने टेलिभिजन भित्तामा सजिन थाल्यो । त्यसमा रंगका परिभाषाहरू परिवर्तन हुँदै गए । स्ट्यान्डर्ड डेफिनेसन टेलिभिजन परिमार्जन हुँदै, हाई डेफिनेसन भयो भने अहिले फोर के टेलिभिजनको प्रयोग बढ्दो छ ।

 टेलिभिजनको परिमार्जन यात्रा त्यहाँ पुगेर पनि रोकिएन । दर्शकहरूको मागलाई मध्यनजर गर्दै उत्पादकहरूले यसमा विभिन्न सुविधा थप्दै जाँदा अहिले स्मार्ट टेलिभिजनहरू बजारमा आएका छन् भने केवलबाट हेरिने टेलिभिजन च्यानलहरू आजभोलि डीसहोमजस्ता डिटिएच प्रविधि, नेटटिभीजस्ता आइपी टिभी प्रविधि वा डिजिटल केवलका माध्यमबाट हेर्न थालिएको छ ।

नयाँ पुस्ताको माग
काम, जागिर एवं व्यवसायमा व्यस्त दर्शकहरू आजभोलि अन डिमान्ड अर्थात् चाहेको बेला हेर्न पाइने टेलिभिजन प्रविधिको माग गरिरहेका छन् । आफ्नो व्यस्तता पनि त्याग्न नसक्ने तथा टेलिभिजनका कार्यक्रमहरू छुटाउन नचाहनेहरूका कारण यस्तो माग बढेको हो । केही स्मार्ट टेलिभिजन तथा केवल सेवाप्रदायकले प्रसारित कार्यक्रम रेकर्ड गर्ने सुविधा दिए पनि त्यो साधारण दर्शकका लागि झन्झटिलो र भरपर्दो नभएको पाइन्छ ।

पुरानो प्रविधिमा आधारित केवल अव्यवस्थित हुनाले त्यसबाट आउने च्यानलहरू सफा नहुनु नेपाली दर्शकहरूको प्रमुख गुनासो हो । टेलिभिजन सेट एच डी भए पनि च्यानलहरू एच डी नहुनाले त्यस्तो समस्या देखिएको हो ।

नयाँ विकल्पको खोजी
प्रविधिको विस्तारसँगै श्यामश्वेत भाँडोबाट सुरु भएको टेलिभिजनको यात्राको अन्त्यको कल्पना त गर्न नसकिएला, तर नयाँ पुस्ताले बिस्तारै केवल टेलिभिजनको विकल्प खोज्न थालेको छ । टेलिभिजनमा आउने सम्पूर्ण कार्यक्रमहरू आजभोलि युट्युबमा आउनु तथा सामाजिक सञ्जाल फेसबुक तथा भिडियो अपलोड गर्ने वेबसाइट युट्युबले आफुलाई टेलिभिजनको विकल्प रूपमा उभ्याउने विभिन्न प्रयास गरिरहेको हुनाले पनि अबका केही वर्षमा पुरानो प्रविधिका च्यानलमाथि चुनौती थपिएका छन् ।

युट्युब टिभीको सुरुवात
केही समयअघि सुरु गरिएको युट्युब टिभी (tv.youtube.com) को सेवा हाल अमेरिकाका केही सहरमा उपलब्ध छ । एउटा अकाउन्टबाट मासिक ३५ डलर तिरेपछि परिवारका ६ सदस्यले भिन्दाभिन्दै डिभाइसमा आ–आफ्नो एकाउन्टमार्फत यो टिभी हेर्न सक्छन् । हाल अमेरिकाको केही सहरमा मात्र सेवा उपलब्ध गराउँदै आएको युट्युब टिभीमार्फत अहिले ४५ भन्दा बढी च्यानल हेर्न र हरेक एकाउन्टमा छुट्टाछुट्टै रेकर्ड गर्न सकिने सुविधा छ । क्लाउड डिभिआर अर्थात् इन्टरनेटमै रेकर्ड गर्ने सुविधा रहेको सो सेवामा असीमित रेकर्डिङको सुविधा छ, जसमा पेनड्राइभ वा हार्ड ड्राइभ नभए पनि कार्यक्रम रेकर्ड गर्न सकिन्छ ।

मोबाइल, ल्यापटप, ट्याब तथा स्मार्ट टिभी सबैमा युट्युव चल्ने हुनाले नेपालमा पनि युट्युव टिभीको भविष्य राम्रो हुन सक्ने अनुमान गर्न सकिन्छ । इन्टरनेटको गतिले कमै असर पार्ने युट्युबमा सबैजसो च्यानल एचडीमा उपलब्ध हुन्छ ।

फेसबुकको घोषणा
टेलिभिजनको विकल्प बन्ने फेसबुकको घोषणा कार्यान्वयन हुन भने केही समय लाग्न सक्छ । भिडियो प्रकाशकहरूलाई फेसबुकले आफ्नो कार्यक्रम फेसबुकमै प्रकाशन गर्न अनुरोध गरिए पनि उक्त कुरा अहिलेसम्म स्वीकार्य भएको छैन । फेसबुकमै कार्यक्रम प्रकाशन गरेर धेरैभन्दा धेरै दर्शकमाझ कार्यक्रम पुर्याउने  फेसबुकको योजना छ ।

इन्टरनेट मार्फत सेवा
नेपालका केही टेलिभिजन च्यानलले प्रविधिलाई पछ्याउदै आफ्ना कार्यक्रमहरू नियमित रूपमा युट्युबमा राख्न थालेका छन् भने केहीले चौबीसै घण्टा वेवसाइट, युट्युब, एप तथा फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सुरु गरेका छन् । यस्तै विदेशी च्यानलहरूले पनि युट्युब वा आ–आफ्ना वेवसाइटमार्फत प्रत्यक्ष प्रसारण उपलब्ध गराएका छन् । यसले गर्दा कार्यक्रमहरू चाहेको बेला हेर्न मिल्ने हु“दै गएको छ, जसका कारण दर्शकहरू टिभी हेर्ने नयाँ शैलीतर्फ आकर्षित हुँदै गएका छन् ।

टेलिभिजन विस्थापित हुन्छ त ?
नयाँ पुस्ताले टेलिभिजन हेर्न नरुचाए पनि यो सहजै विस्थापित भने हुँदैन । यसको प्रयोग अन्य विभिन्न काममा हुन सक्छ । जस्तै बढ्दै गएको टिभी सेटको आकारले चलचित्र हेर्न, भिडियो गेम खेल्न, पारिवारिक जमघटका बेला केही विशेष कार्यक्रम हेर्न टिभी नभई हुँदैन । त्यसैले विशेषज्ञहरू भन्छन्– टेलिभिजन विस्थापित हुँदैन बरू परिमार्जित हुँदै जानेछ ।

केवल सेवाप्रदायकहरू विस्थापित हुने सम्भावना ?
नयाँ प्रविधिको विकाससँगै पुराना प्रविधिहरू बिस्तारै विस्थापित त हुन्छन नै, तर अहिले नै केवल सेवाप्रदायकहरू विस्थापित हुने सम्भावना देखिँदैन । प्रविधिको विस्तार संगै सफा र एचडी च्यानल तथा अन डिमान्ड सेवा उपलब्ध गराउन सफल केही सेवाप्रदायक युट्युव वा फेसबुकसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । सुपथ मूल्यमा परिष्कृत सेवा दिन सफल भए यी सेवाप्रदायकहरू विस्थापित हुने सम्भावना कम छ ।

प्रकाशित :असार ११, २०७४

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here