सूचना प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्याउन आवश्यक: मन्त्री राई

राष्ट्रिय सूचना आयोगद्वारा ‘दिगो विकासका लागि खुल्ला सरकारी तथ्याङ्क’ विषयको पाँचदिने प्रशिक्षण सुरु गरीएको छ। उक्त प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अत्याधुनिक प्रविधिको आजको युगमा सूचना प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्याउन आवश्यक भएको बताए। नयाँ संविधानले सबै जाति, भाषा र क्षेत्रका अधिकार सुनिश्चित गरेको बताउँदै उनले सरकार र सरकारबाहिर रहेका सम्पूर्ण दल मिलेर त्यसलाई कार्यान्वयनमा लानुपर्ने विचार व्यक्त गरे।उनले सरकारले गरेका सबै काम कारबाहीलाई पारदर्शी बनाउन सबै सरकारी कार्यालयमा सूचना अधिकारीको उपस्थिति अनिवार्य गर्ने तयारी गरिएको बताए।

उक्त प्रशिक्षणमा सूचनाको हक, खुल्ला सरकारी तथ्याङ्क, दिगो विकासलगायतका विषयमा छलफल गरिने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिए। खुल्ला सरकारी तथ्याङ्कले लोकतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने विश्वास आयुक्तद्वय यशोदा तिमिल्सिना र किरण पोखरेलले व्यक्त गरे। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका देशीय निर्देशक रेनड मेयरले सूचनाको हक कार्यान्वयन गर्न सबैको साझेदारिता आवश्यकता भएको बताए रासस