वेब साइट ह्याक गर्ने विकास पौडेल पक्राउ

काठमाडौं ।करिब दुई सयभन्दा बढी  विभिन्न वेबसाइट ह्याक गर्ने १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले बुधबार विज्ञप्ति निकालेर राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयको वेबसाइट ह्याक गर्ने विकास पौडेललाई पक्राउ गरेको जनाएको छ। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले गत सोमबार सोह्रखुट्टे एरियामा फेला पारेको हो। प्राप्त सूचनाको आधारमा वेबसाइट ह्याक गर्ने व्यक्ति तथा सूहहरुको बारेमा प्रारम्भिक अनुसन्धान गर्दै जांदा “Anonymous # Opnep” ले ह्याक गरेको देखिन आएको र त्यसमा पौडेल संलग्न रहेको भेटिएको प्रहरीले जनाएको छ।

Anonymous # Opnep” को बारेमा थप अनुसन्धान गर्दा तनहुँ जिल्ला, बन्दिपुर घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका बालाजु हाइट बस्ने १८ वर्षीय विकास पौडेलले “Anonymous # Opnep” नाम राखी साइटहरु ह्याक गरेको खुल्न आएको प्रहरीको दाबी छ। अनुसन्धानको क्रममा पौडेलले दुग्ध विकास संस्थान,राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल दुरसंचार संस्थानका केही प्रयोगकर्ताहरुको विवरण एवं विभिन्न शैक्षिक संस्थाहरु लगायत करिब २०० वटा वेबसाइटहरु ह्याक गरेको खुल्न आएकोछ साथै अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।