टेलिकमको रिचार्ज कार्डमा पाइने बोनस बन्द

काठमाडौं ।

नेपाल टेलिकमले रिचार्जकार्डमा दिएको बोनस योजना बन्द भएको छ । पुस मसान्त सम्मका लागी रिचार्जकार्डमा ल्याइएको बोनस योजना डेढमहिने अवधि सकिएसँगै बन्द भएको हो । तर टेलिकमले एमपोस प्रविधिमा दिएको १० प्रतिशत बोनस योजना भने यथावत नै छ ।

टेलिकमले डेढमहिना अघि रिचार्जकार्डमा ५ प्रतिशत र एमपोस प्रविधिमा १० प्रतिशत बोनस योजना ल्याएको थियो । अब रिचार्जकार्डमा उपभोक्ताले कुनै किसिमको बोनस पाउने छैनन्, तर एमपोस प्रविधिमा भने १० प्रतिशत बोनस योजना निरन्तर रहेको टेलिकमको भनाइ छ ।

 टेलिकमको एमपोस, एमपोस प्रविधिबाटै सेवा दिएका पेमेन्ट गेटवे कम्पनीबाट यो बोनस प्राप्त गर्न सकिन्छ । टेलिकमको डाइरेक्ट एमपोस प्रविधि मार्फत् टप्अप् सुविधा दिने कम्पनीमा इसेवा अग्रस्थानमा छ । इसेवाबाट टप्अप् गर्दा उपभोक्ताले हाल पाइरहेकै १० प्रतिशत बोनस रकम प्राप्त गर्न सक्ने इसेवाका जोन तथा पोइन्ट विभाग प्रमुख अरूण फुयाँलले बताए ।

इसेवा पेमेन्ट गेटवे कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा बोकेको कम्पनी हो । पेमेन्ट गेटवे कम्पनीहरुको कारोबारमा ९० प्रतिशत भन्दा धेरै बजार हिस्सा इसेवाको छ । इसेवा नेपाल टेलिकमको सबैभन्दा धेरै सिम बेच्ने तथा एमपोस प्रविधिबाट रिचार्ज तथा मोबाईल टप्अप्, बिल भुक्तानीमा सबैभन्दा अग्रस्थानमा रहेको छ ।