बाँकेका १२ गाविसलाई कम्प्युटर र प्रिन्टर वितरण

Computer Distributor in Nepal
नेपालगन्ज ।
सुशासनको माध्यमबाट स्थानीय निकायमा जनताको सहभागिता बढाउने उदेश्यले बाँकेमा सञ्चालन गरिएको साझेदारी विकास परियोजनाले बाँकेका १२ वटा गाविसलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।
गाउँ विकास समितिका कामलाई चुस्तदुरुस्त पार्नुका साथै अभिलेखीकरण र कार्य सहजता लागि जिल्लाका १२ वटा गाउँ विकास समितिलाई कम्प्युटर, प्रिन्टर, यूपीएस र स्टेबलाइजर प्रदान गरिएको साझेदारी विकास परियोजनाले जनाएको छ ।

जिल्लाका १२ वटा गाउँ विकास समितिका सचिवलाई साझेदारी विकास परियोजनाका प्रमुख निक ल्याङटन र जिल्ला विकास समिति बाँकेका निमित्त स्थानीय विकास अधिकारी गौरी श्रेष्ठले कम्प्युटर र प्रिन्टरलगायत सामग्री हस्तान्तरण गरे ।

जिल्लाका शमशेरगन्ज, फत्तेपुर, इन्द्रपुर, उढरापुर, सोनपुर, गनापुर, बेलहरी, कम्दी, खासकुश्मा, महादेवपुरी, कचनापुर र विनौना गाविसका सचिवलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो ।

कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्दै साझेदारी विकास परियोजनाका प्रमुख ल्याङटनले स्थानीय निकायमा सुशासन कायम गराउने उद्देश्यले सञ्चालन गरिएको साझेदारी विकास परियोजनाले स्थानीय निकायलाई सबल र सक्षम बनाउने काम समेत गर्ने बताए ।

उनले प्रविधिको अभावमा धेरै काममा ढिलासुस्ती हुने गरेकाले गाविसको कार्यालयलाई कम्प्युटर र प्रिन्टरलगायत सामग्री प्रदान गरिएको बताए । यसका लागि पहिले नै ती गाविसलाई सोलार प्रदान गरिसकिएको जनाउँदै उनले भविष्यमा तालिम पनि सञ्चालन गरिने बताए । कम्प्युटर र प्रिन्टर पाएपछि गाविसका सचिवले अब गाविसका सबै गतिविधि लगायत अन्य अभिलेखलाई व्यवस्थित रुपमा राख्न सहज हुने र यसबाट तत्काल काम गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

शमशेरगन्ज गाविसका सचिव अग्निप्रसाद आचार्यले साझेदारी विकास परियोजनाका कारण गाविसमा स्थानीय बासिन्दाको सहभागिता हरेक गतिविधिमा बढ्दै गएको जनाउँदै कम्प्युटर पाएपछि अब अभिलेख राख्न सहज हुने र अन्य काम पनि छिटो छरितो गर्न सहयोग पुग्ने बताए ।

यूएसएडको आर्थिक सहयोगमा बाँकेका १२ वटा गाविसमा सञ्चालन गरिएको साझेदारी विकास परियोजनाअन्तर्गत ८ वटा गाविसमा बाँके युनेस्को क्लब र ४ वटा गाविसमा इन्रुडेक कोहलपुरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।