टेलिकमको चाडपर्व अफर

काठमाडौं ।  

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैं-तिहारमा ग्राहकहरुका लागि आकर्षक छुटको घोषणा गरेको छ ।

टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा थ्रिजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराउने भएको छ ।

छुट दशैंमा असोज १३ गतेदेखि २१ गतेसम्म र तिहारमा कार्तिक ४ गतेदेखि १३ गतेसम्म उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

टेलिकमले यस अवधिमा जीएसएम र सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलको विद्यमान महशुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।

छुटपछि ग्राहकले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र पि्रपेड मोबाइलबाट प्रतिमिनेट एक रुपैयाँ ३५ पैसमा कल गर्न सक्नेछन् ।

जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कमा हुने एसएमएस सेवाको विद्यमान महशुल दरमा ५० प्रतिशत छुट दिइएको छ । यस अवधिमा ग्राहकले ५० पैसामा एसएमएस गर्न सक्छन् ।

पिएसटीएन तथा सी-फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महशुलमा २७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइएको छ । अहिले न्यूनतम मासिक महशुल दुई सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध छ ।

टेलिकमका अनुसार यस अवधिमा भ्यालिडिटी सकिने भोल्यूम बेस्ड एडीएसएल तथा वाईम्याक्स सेवाका ग्राहकहरुलाई अधिकतम ३ जीबी डाटा थप गरिने छ ।

असोज १४ गतेदेखि २१ गतेभित्र अनलिमिटेड एडीएसएल तथा वाईम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज २२ गतेसम्म थप गरिएको छ । त्यस्तै, कार्तिक ६ गतेदेखि १२ गतेभित्र समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कर्तिक १३ गतेसम्म थप गरिएको छ ।

सीडीएमएस सेवाका ग्राहकहरुलाई यस अवधिमा प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ ।

यसअनुसार उक्त अवधिभित्र प्रत्येक दुई रुपैयाँको रिचार्ज गर्दा २० रुपैयाँ र पाँच सय रुपैयाँको रिचार्ज गर्दा ७५ रुपैयाँ तथा एक हजार रुपैयाँको रिचार्ज गर्दा दुई सय रुपैयाँ बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उक्त बोनसको भ्यालिडिटी पिरियड क्रमश? १,२ र २ दिन कायम रहनेछ ।