गुगलको नयॉ योजना

काठमाडौं । 

पासवर्ड के हो? सायद केही समयपछि मानिसहरुले यो प्रश्न सोध्न सुरु गर्नेछन् । गुगलको प्रयास सफल भएमा तपाइँको स्मार्टफोनमा कुनैपनि पासवर्डको जरुरत पर्नेछैन ।

सन् २०१६ का लागि गुगलले प्रोजेक्ट एबाकस नामक महत्वाकांक्षी परियोजना अघि बढाउँदैछ । जसको मुख्य लक्ष्य भनेकै स्मार्टफोनमा अंक वा अक्षरको पासवर्डको साटो बायोमेट्रिक रिडिंग मार्फत प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन लक वा अनलक गर्ने सुविधा प्रदान गर्नु ।तपाइँको टाइपिंगको आनीबानी, लोकेसन, आवाज तथा अनुहारलाई पहिचान गरी स्मार्टफोनले तपाइँलाई चिन्नेछ र खुल्नेछ । जसका कारण तपाइँले स्मार्टफोनमा पासवर्ड थिचिरहनुपर्ने छैन ।

अन्य जानकारीहरु एकत्रित गरी गुगलले हरेक स्मार्टफोन प्रयोगकर्ताका लागि एक ट्रस्ट स्कोर तयार गर्नेछ । उक्त ट्रस्ट स्कोर यदि एक संख्याभन्दा माथि भएमा लगइनमा कुनैपनि समस्या हुनेछैन । विश्वमा अहिले टु फ्याक्टर अथेन्टिकेसन पासवर्ड वा पासवर्डको दुइ चरणमा प्रमाणिकरण धेरैले रुचाउने विधि बनेको छ । आफ्नो कुनैपनि इन्टरनेट अकाउण्टमा लगइन गर्दा आफ्नो मोबाइलमा एक सेक्रेट कोड प्राप्त हुन्छ ।

उक्त कोडलाई उक्त वेबसाइटमा हालेर मात्र आफ्नो अकाउण्ट खोल्न सकिन्छ अर्थात् लगइन सफल हुन्छ । तर पासवर्डको युग समाप्त भएसँगै यो झण्झट पनि स्वतः हट्नेछ ।कतिपय देशमा बैंकहरुले यो प्रविधि अपनाइसकेका छन् किनकी यो सिस्टम ह्याक गर्न सम्भव हुँदैन ।

धेरै एप तथा वेबसाइटहरुले आफ्ना प्रयोगकर्ताका धेरै गोप्य तथा विस्तृत जानकारीहरु प्राप्त गर्ने हुनाले यस्तो गर्नु अनिवार्य भैसकेको छ । अनि यसमा लगाम लगाउन मुस्किल भैरहेको छ र इन्टरनेट प्रयोगकर्ताहरुको गोपनियता संकटमा पर्नुका साथै साइबर जोखिम पनि बढ्दो छ । धेरै ठाउँमा इन्टरनेट प्रयोगकर्ताको जानकारी प्रसारित हुने क्रमलाई रोक्ने प्रयास गुगलले गरिरहेको छ ।प्रयोगकर्ताको विषयमा विभिन्न जानकारी सँगाल्नेछ र त्यसलाई प्रयोगकर्ताको पासवर्डको रुपमा प्रयोग गर्न गुगलले सम्भव तुल्याउनेछ । एजेन्सी