काठमाडौं महानगरपालिकामा अब विद्युतीय प्रणालीको सेवा

रासस

rudrasingh-tamang

२७ कात्तिक, काठमाडौं । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणालीमार्फत सेवा सुरु गर्ने भएको छ ।

वडा नं ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार महानगरको सेवा कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घर घरमा सेवा विस्तार गर्न विद्युतीय प्रणाली मार्फत सेवा विस्तार गर्न लागिएको हो ।

एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि झन्डै रु चार करोड लाग्ने अनुमान गरिएको छ । पछि सबै वडा कार्यालयबाट नागरिकले उक्त सेवा प्राप्त गर्न सक्नेछन् ।

नक्सा पास गर्ने, कर दिने–लिने, बक्यौता रकमका बारेमा जानकारी, करको शीर्षक, कामपाका कामकारबाही, नागरिकको गुनासोे तथा नीतिनियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न इन्टरनेट मार्फत नागरिक र कामपाबीच सिधा सम्पर्क हुने कामपा राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणाली लगायत सबै काम यसै मार्फत हुने बताइएको छ ।

उक्त सेवा विस्तार सँगै कामपाको आन्तरिक राजस्व पनि नियमित रुपमा सङ्कलन हुने विश्वास कामपाले लिएको छ । आन्तरिक राजस्व अन्तर्गत कामपामा हरेक वर्ष करिब रु एक अर्ब उठ्ने गरेको छ भने अर्काे रु एक अर्ब बक्यौता रहने गरेको छ ।

अबका दिनमा नगरवासीको सम्पूर्ण जानकारी कम्युटरमा अभिलेख राखिनेछ । कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गर्ने छ ।