इन्टरनेट र सामाजिक संजालको दुरुपयोगले आफ्नै लागि हानिकारक

काठमाडौं, चैत ।

सूचना तथा संचार प्रविधिको विकाससँगै  दूरसञ्चार सेवा, फेसबुक र ट्विटर जस्तासामाजिक संजाल र साइबरको दुनियामा द्रुत गतिमा जोडिरहेका छन् भने यिनको विवेकपूर्ण प्रयोग उत्तिकै महत्वपूर्ण हुन्छ । व्यक्तिगत जानकारी तथा निजी जीवनका गोपनियतामा असर,विशेषगरि प्रविधि र सामाजिक संजालको दुरुपयोगले ठगी हुनसक्ने भएकोले यस्ता विसंगतिबाट बच्न युवा तथा विद्यार्थीलाई दुरसञ्चारको दुरुपयोग गरि हुने ठगी तथा कसरी सामाजिक संजालमा उपस्थिती जनाउने भन्नेबारे जनचेतनाको खाँचो छ । सोही आवश्यकतालाई पूर्ति गर्ने उदेश्यले एनसेल र जिल्ला प्रहरी कार्यलय, पाँचथरले संयुक्त रुपमा दुरसञ्चारको दुरुपयोग गरि हुने ठगी तथा इन्टरनेट र सामाजिक संजालको प्रयोग सम्बन्धि एक जनचेतना मुलक कार्यक्रमको आयोजन गरेका छन् ।

आइतवार फिदिममा आयोजना गरिएको सो कार्यक्रम संभावित दुरसञ्चारको दुरुपयोग गरि हुने ठगीबाट कसरी बच्ने, सामाजिक संजालमा कसरी जिम्मेवारीपूर्वक प्रस्तुत हुने र सूचनाको सदुपयोग गर्नेमा केन्द्रित थियो । कार्यक्रममा स्थानीय युवा लगायत स्थानीय प्रशासनका सम्बन्धित निकायका उच्च पदाधिकारीको उपस्थिती रहेको थियो ।  उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोईरालाले इन्टरनेट तथा सामाजिक संजाल चेतना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कसरी सामाजिक संजालहरुमा आफुलाई सुरक्षित राख्ने र नेपालको साइबर सम्बन्धि कानुन लगायतका विषयमा जानकारी दिएका थिए ।

त्यसैगरी एनसेलका फ्रड इन्टेलिजेन्स एक्सपर्ट सचिन्द्र प्रधानले सिम र टेलिकमको दुरुपयोग गरि हुने ठगीका बारेमाकार्यपत्र प्रस्तुत गरेको थिए । उनले ‘आइडेन्टीटी थेफ्ट ‘ र यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरे । पाँचथरका स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाले सुचना प्रविधिका युगमा इन्टरनेट दैनिक आवश्यकता भईसकेको, यसको फाइदा छ तर दुरुपयोग पनि हुनसक्छ । यस्ता कार्यक्रमले दुरुपयोग घटाउन तथा ठगी लगायतका नकारात्मककार्यको नियन्त्रणमा मद्दत गर्ने बताए । पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेब ढुङ्गाना,पाँचथर सहायक प्रमुख जिल्ला अधिकारी केशव रिमाल, फिदिम उच्चमाविका प्रधानअध्यापक दुर्गाराज खत्री लगायतका वक्ताले सामाजिक संजालको सही प्रयोग र यसको महन्वको बारेमा मन्तब्य राखेका थिए ।