अब नक्सामा हस्ताक्षर पनि अनलाइनबाटै

काठमाडौं, वैशाख १८ । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए ।

यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा आउनुपर्ने थियो । अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन । यस्तो व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने कामपाले विश्वास लिएको छ ।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुन्छ ।

यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here