अक्सफोर्ड कलेजका विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

नवलपरासीको गैँडाकोटको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्केत दिने कुरा यन्त्र बनाउन संलग्न विद्यार्थी अमृत सापकोटाले बताए ।

उक्त सूचकमध्ये पानीको प्रयोग गरी निर्माण गरिएको सूचकले पानीको सतहको तरङ्गको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रिङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका ठाडा र तेर्सा दुवै तरङ्गलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तका आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए ।अक्सफोर्ड कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले उक्त सूचक यन्त्रलाई सुपथमूल्यमा बजारमा ल्याउने जानकारी दिए । विद्यार्थीले निर्माण गरेको पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचक यन्त्रलाई भने एक हजार पॉच सय रुपैयाँ पर्ने बताइएको छ ।